Open
  • Pulchowk, Lalitpur
  • 24 Hrs Open

दाँत सफा गर्दा कम्जोर होइन, झन मजबुत हुन्छ

शरीरका अन्य अंगको जति महत्व छ त्यतिनै महत्व दाँतको पनि भएको डा. बिभुती ताम्राकार बताउनुहुन्छ ।  दाँत सम्बेदनशील अंग हो, यसले सौन्दर्य झल्काउनेदेखि लिएर दैनिक खानेकुराहरु खान्छौं त्यसलाई राम्रोसँग चपाएर सहजै पचाउने बनाउँछ र हाम्रो शरीर स्वस्थबद्धक बन्नाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । दाँतलाई केयरलेस नगरी सानोतिनो समस्या आउने वित्तिकै उपचार गराई हाल्नुपर्ने डा. ताम्राकार बताउनु हुन्छ । दाँत सम्बन्धी समस्या र त्यसको निवारणका लागि गरिने उपचारको बारेमा डेन्टल सर्जन डा. बिभुति ताम्राकारसँग खोजतलास साप्ताहिकका लागि विश्वास भट्टराईले गरेको संक्षिप्त कुराकानी ः
० हाम्रो शरीरमा दाँतको काम र महत्व के होला ?
हाम्रो शरीरमा अन्य भागको जति महत्व छ त्यो भन्दा बढी दाँतको एकदमै महत्व छ । दाँत एउटा सम्बेदनशील अंग हो, यसले सौन्दर्य झल्काउने देखि लिएर दैनिक खानेकुराहरु खान्छौं त्यसलाई राम्रोसँग चपाएर सहजै पचाउने बनाउँछ र हाम्रो शरीर स्वस्थबद्धक बन्नाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ, अर्को कुरा भनेको हाम्रो दैनिक जीवनमा हातखुट्टाभन्दा पनि बढी मुख प्रयोग हुन्छ, हामीले दैनिक खानेकुराहरु देखि लिएर अन्य गतिविधिहरु पनि मुखबाटै हुने भएका कारण सबैभन्दा बढी किटाणु पनि मुखमै हुन्छ, त्यो कुरा मानिसहरुले बुझेका छैनन् । मुखभित्र दाँतमा भएको किटाणुहरु हाम्रा शरीरको विभिन्न भागमा फैलन सक्छ र त्यसले विभिन्न रोगहरु निम्त्याउन सक्छ । त्यसैले दाँतमा सानोतिना समस्या जस्ता किरा लागेको अवस्था, दाँत सिरिङ्ग गरेको अवस्थामा वा अन्य केही समस्या आउनेवित्तिकै डेन्टिससँग सल्लाह गरी सोही बमोजिम उपचार गरिहाल्ने हो भने खासै खर्चिलो पनि छैन । तर, त्यसलाई केयरलेस गरेको खण्डमा पछि आफूलाई दुःख पनि हुने र बढी खर्च लाग्ने पनि हुनसक्छ । त्यसैले दाँतलाई केयरलेस नगरी सानोतिनो समस्या आउने वित्तिकै उपचार गराई हाल्नुपर्छ र वर्षको एक—दुई चोटी डेन्टिसको सल्लाहअनुसार दाँत सफा पनि गर्नुपर्छ ।
० दाँतमा कस्ता—कस्ता समस्याहरु आउँछन् ?
नेपालको परिवेशमा भन्ने हो भने सामान्य समस्या भनेको दाँतमा किरा लाग्ने, फोहोर हुने, वंशानुगत (hereditary) समस्याहरु पनि हुन्छ, कसैको दाँतमा फोहोर भएको हुँदैन तर दाँत हल्लिएको हुन्छ, त्यो भनेको दाँतसँग सम्बन्धित अंगहरु जस्तो हड्डी, गिजाका कारण पनि यस्तो समस्याहरु देखा पर्न सक्छन् । दाँतमा सामान्य किरा लाग्यो भने त्यसलाई हामीले फिलिङ गरेर सफा गर्ने गर्छौं, तर धेरै समयसम्म किरा लागेको र नसासम्म छोएको अवस्थामा भने नसा नै मर्ने हुन्छ त्यस्तो अवस्थामा जरादेखि उपचार गर्नुपर्ने अवस्था आउँन सक्छ । त्योसँग सम्बन्धित हड्डी खियो भने पनि दाँतसम्बन्धी समस्या आउन सक्छ । दाँतको ब्याक्टेरिया र हड्डीको ब्याक्टेरिया उस्तै हुन्छ, शरीरमा विभिन्न रोगको समस्या भएकाहरुको सितिमिति दाँत निकाल्नु हुँदैन । जस्तै प्रेसरको विरामी, सुगरको विरामी, मुटु अनि रगतको विरामीको पनि सितिमिति दाँत निकाल्नु हुँदैन ठूलो समस्या आउन सक्छ । त्यसैले आफूलाई दाँत दुखेर सहनै नसकेको अवस्थामा जहाँ पायो त्यही गएर दाँत निकाल्नु हुँदैन यसले ठूलो समस्या निम्त्याउन सक्छ ।
० गिजा सुन्निने, रगत आउने, सिरिङ्ग सिरिङ्ग गर्ने समस्या के कारणले हुन्छ ?
हामीले दैनिक ब्रस गरेर र कुल्ला गरेर नजाने फोहोरहरुका कारणले पनि यस्तो समस्या आउन सक्छ । हामीले ब्रस गरेर र कुल्ला गरेर नगएको दाँत र गिजाको बिचमा ढुंगा जसरी जाम भएर बसेको फोहोर हुन्छ त्यसमा थप्पिँदै गएपछि गिजाले दाँत समात्ने ठाउँ पाएन त्यस्तो अवस्थामा गिजा सुन्निने, रगत आउने, ¥याउ ¥याउ गर्ने र त्यसलाई बेसरी थिचेर रगत निकाल्न मन लाग्छ । यस्तो अवस्थामा भने हामीले के बुझ्नुपर्छ भने दाँत सफा गर्ने समय भएछ भन्ने बुझ्नु पर्छ । त्यसैले हामीले सामान्य रुपमा ६ महिनादेखि एक वर्षको बिचमा दाँत सफा गर्नुपर्छ त्यसले गिजा स्वस्थ हुन्छ र यस्तो समस्याहरु आउँदैनन् ।
० बेला—बेलामा दाँत सफा गर्दा दाँत कम्जोर हुन्छ भन्छन् नि ?
यो एकदमै गलत कुरा अन्धविश्वास हो । पछिल्लो समय डेन्टल क्लिनिकहरु छ्याप्छ्याप्ती छन्, दाँतको विरामीले कुन ठाउँमा गएर आफ्नो दाँतको उपचार अथवा सफा गरिरहेको छ । त्यस ठाउँमा सफा गर्दा कसले ग¥यो, कस्ता कस्ता मेट्रियल र सामान प्रयोग गरेको छ त्यसतर्फ पनि ध्यान दिनुपर्ने हुन्छ । वास्तवमा हामीले सफा गर्ने भनेको दाँत र गिजाको बिचमा ढुंगा जसरी जाम भएका फोहोर निकाल्ने हो, त्यो लामो समय जाम भएर बसेको फोहोर निकाल्दा त्यो ठाउँमा प्वाल—प्वाल परेको हुन्छ त्यसलाई ग्याव बढेको भन्ने गर्छन्, तर त्यो होइन मान्छेको नेचुरल ग्याव नै हो । दाँत सफा गर्दा कम्जोर होइन झन मजबुत र बलियो हुन्छ ।
० बाङ्गोटिङ्गो र दाँत आउनुको कारण के होला ?
बाङ्गोटिङ्गो दाँत आउनुको मुख्य कारण भनेको वाई बर्थ नै हो । पेटमै हुँदाखेरी दाँतको फरमेशन सुरु हुन्छ । कुन दाँत कहाँबाट आउँछ भन्ने डिरेक्सन हुन्छ, एउटा मान्छेको जस्तो दाँत अर्को मान्छेको जस्तो हुँदैन । त्यो डिसाइडेड वाई वर्थ हुन्छ । त्यसलाई पछि मिलाउने काम गर्न सकिन्छ ।
० बाङ्गोटिङ्गो दाँतले शरीरलाई असर गर्छ कि गर्दैन ?
असर गर्छ । बाङ्गोटिङ्गो र सिधा दाँतमा धेरै नै फरक पर्छ । दाँत मिलेको छ भने खानेकुरा खाँदा खासै अड्कीँदैन र फोहोर पनि जम्ने कम हुन्छ भने बाङ्गोटिङ्गो दाँतमा फोहोर धेरै जम्ने भएका कारण गिजामा समस्या आउँछ र बढी किरा लाग्ने सम्भावना हुन्छ । त्यसैले बच्चामै त्यस्ता दाँत मिलाएको खण्डमा गिजाको समस्यादेखि लिएर विभिन्न समस्याबाट बच्न सकिन्छ ।
० बाङ्गोटिङ्गो दाँत कसरी मिलाइन्छ ?
बाङ्गोटिङ्गो दाँत मिलाउने चाहिँ अर्थोडोन्टिक्समा पर्छ (तार बान्ने) । अर्थोडोन्टिसले दाँतको अवस्था हेरेर र तारले बाँधेर एक्सटर्नल फोर्स प्रयोग गरेर दाँतलाई तानतुन गरेर मिलाउने काम गर्छ । यो काम सबै दाँत आइसकेपछि गर्दा राम्रो हुन्छ ।
० दाँतको समस्या बच्चाहरुलाई बढी देखिने गरेको पाइन्छ नि ?
दाँतको समस्या बच्चालाई मात्र होइन ठूलोलाई पनि त्यतिकै मात्रामा हुन्छ । बच्चाहरुकोमा समस्या आउनु भनेको बढी चकलेट खाने, चकलेट खाएपछि मुख कुल्ला नगर्ने र बढी समय मुखमै खानेकुराहरु राख्ने गरेका कारणले बढी आउँछ । आजकल बच्चाहरुले बढी समय मोबाइल हेरेर मुखभरी खानेकुरा राखेर बस्छन्, त्यसैले मुखको ब्याक्टेरियाले चाँडो एसिड निकाल्ने काम गर्छ, एसिडले दाँत मक्काउने काम गर्छ, त्यसपछि दाँतमा समस्या आउने त भइहाल्यो नि !
० दाँत सफा कति समयको अवधिमा गर्दा राम्रो हुन्छ ?
हामीले दाँतको अवस्था हेरेर त्यसको निक्र्योल गछौं । दाँतमा धेरै नै फोहोर छ भने ३ महिनादेखि ६ महिनाको अवधिमा हामीले बोलाइहाल्छौं । त्यसको अवस्था कस्तो छ भनेर चेकजाँच गर्ने गर्छौं र सोही अनुसार सफा गर्ने काम गर्छौं । सामान्य हिसावले भन्ने हो भने वर्षको एकपटक भएपनि दाँत अनिवार्यरुपमा सफा गर्न म सुझाव दिन्छु ।
० बुद्धि बंगरा आउँदा एकदमै पिडा हुन्छ, के कारणले यस्तो हुन्छ ?
बुद्धि बंगरा भनेको हाम्रो शरीरमा भएको एपेन्डिक्स जस्तै हो । यो खासै काम लाग्दैन । सामान्य हिसावले हेर्ने हो भने हाम्रो मुखमा २८ वटा दाँत ठिक्क भन्ने गर्छौं तर, ठूलो मुख हुनेहरुको भने ३२ वटा दाँत अट्न सक्छ तर सानो मुख भएकाहरुको लागि त्यतिमात्राको दाँत नअट्ने भएका कारण दाँत आउन खोज्छ तर आउँदैन ठाउँ नभएपछि त्यस्ले ठेल्न खोज्छ अनि त्यसले पिडा दिन्छ । त्यस्तो अवस्थामा त्यसलाई निकालेर फाल्दा नै उपयुक्त हुन्छ ।
० सास गन्हाउने समस्या कसरी हुन्छ ?
सास गन्हाउने कारणमध्ये दाँतमा भएको फोहोरका कारण पनि हुन्छ । दाँतमा फोहोर जमेपछि गिजामा समस्या आउने, गिजालाई थिच्दा नमिठो स्वाद आएको जस्तो हुने भनेको फोहोरकै कारण हो । त्यसैले मज्जाले सफा ग¥यो भने त्यस्तो समस्या हुँदैन । कसैकसैको भने विभिन्न औषधीहरु प्रयोग गरेका कारण, कसैकसैको पेटको समस्या जस्ता डकार, अमिलो पानी आउने जस्ता कारणले पनि सास गन्हाउने हुन्छ ।
० दाँतको दुखाई अत्यन्तै पिडादायी हुन्छ, त्यसलाई तत्काल दुखाई न्यूनिकरण गर्ने उपाय के होला ?
कहिलेकाहिँ खाना खाएपछि एक्कासी सहनै नसक्ने गरी दाँत दुखेको छ भने एकपटक मज्जाले ब्रस गर्ने अनि नुनपानीले कुल्ला गरेको खण्डमा पनि दुखाईमा कमी आउन सक्छ । अर्को भनेको चाहिँ जुन साइडको दाँत दुखेको हो त्यो साइडलाई थिचेर नसुत्ने, दुखेको कम हुन्छ भनेर सुन्निएको साइडलाई थिचेर सुतेको खण्डमा त्यो साइड झन बढी सुन्निने सम्भावना हुन्छ, त्यसैले अर्को साइडबाट सुत्ने, टाउकोलाई अलिकति रेज गरिदिने दुईवटा तकिया प्रयोग गरेर अलिकति उचालिदिने यसरी सुत्दा यदि पिप जमेको हो भने पनि यताउती जाँदैन । हामीले उपचार गर्दा पनि भनेका हुन्छौं यो साइडबाट नसुत्नु, यो साइडबाट नचपाउनु भनेर भनेका हुन्छौं । किनकी जुन ठाउँमा इन्फेक्सन भएको हुन्छ त्यही ठाउँमा थिच्दा झन् दुख्ने समस्या आउन सक्छ । दाँत एकदमै दुखेको अवस्थामा दुखाई काम गर्न फ्लेक्जन (पेनकिलर) खान सकिन्छ । यत्तिकै औषधी पसलमा गएर एन्टीवायोटिकको प्रयोग गर्नुहुँदैन, डाक्टरकोमा गएर सुझावअनुसारको औषधी प्रयोग गर्नुपर्ने हुन्छ ।
० दाँतै नभएकाहरुलाई अस्थाई वा फिक्स कस्तो दाँत हाल्दा राम्रो हु्न्छ ?
यसमा उमेर अनुसार भर पर्छ । २० वर्षदेखि ४० वर्षको उमेर भनेको जवानी उमेर भएका कारण त्यस्तालाई फिक्स दाँत नै हाल्दा राम्रो हुन्छ । किनकी यो उमेर समूहका मानिसहरुलाई झिक्ने राख्ने गर्दा झन्झटिला ठान्छन् । यस्ता उमेर समूहका मानिसहरुलाई दुईटा दाँतको सर्पोट लिएर फिक्स दाँत पनि राख्न सकिन्छ भने अर्को इन्प्लान्ट गर्न सकिन्छ, हड्डीभित्र स्क्रु राखेर फिक्स दाँत राख्न सकिन्छ । तर राख्ने भनेर मात्र हुँदैन, कसैकसैको हड्डी बलियो छैन, हड्डीको कन्डीसन राम्रो छैन भने त्यही अनुसार ट्रिटमेन्ट गर्नुपर्ने हुन्छ । राम्ररी इन्भेष्टिगेसन गरेर, प्लान अनुसार उपचार गर्नुपर्ने हुन्छ
० दाँतको उपचार बढी खर्चिलो हुन्छ भनिन्छ नि ?
समयमै सतर्कता अप्नाउने हो भने हेलचेक्र्याई नगर्ने हो भने दाँतको उपचार खासै महँगो होइन । समय—समयमा दाँतको चेकजाँच गर्ने, सफा गर्ने हो भने दाँतको धेरै नै कममा उपचार हुन्छ । तर, सानोतिनो समस्या जस्तो दाँत सिरिङ्ग गरेको खण्डमा त्यसलाई वेवास्ता गर्दै समयमा उपचार नगरेको खण्डमा पछि मगपजलब तजबथिय दजबलभ नसामै छोइसकेको अवस्था हुन्छ र उपचार विधिमा भने बढी खर्च लाग्छ । किनभने त्यसलाई ठिक पार्न तिनचार पटक नै उपचारको लागि जानुपर्ने हुन्छ । आरसीटी गर्दा क्राउन लगाउनुपर्ने नै हुन्छ, त्यसरी नै खर्च बढ्ने हो ।
० दाँत सम्बन्धी समस्या कसरी हुन्छ, त्यसको उपयोगी कुराहरु र जनमासनलाई सजगता अप्नाउनु पर्ने भन्नै पर्ने कुराहरु केही छन् कि ?
जनमासनलाई भन्नै पर्ने कुरा भनेको हामी सामानय जीवनयापनमा शरीरमा केही भइहाल्यो भने डाक्टरकोमा जान्छौं, तर दाँत दुखेको खण्डमा ठिक भइहाल्छ भन्दै नुन पानीले कुल्ला गरेर बस्छौं, त्यो भनेको प्राथमिक उपचार मात्र हो, के कारणले दुखेको छ भनेर चेकजाँच गराउनु पर्छ, दाँतमा ठूलै समस्या पनि आएको हुन सक्छ, समयमै उपचार गरेको खण्डमा कम खर्च लाग्छ र समय पनि कम लाग्छ । त्यसैले सामान्य दुखाई भएको खण्डमा पनि चाँडोभन्दा चाँडो दाँतको डाक्टरको सल्लाहअनुसार उपचार विधि अप्नाउनु नै सबैभन्दा राम्रो हुन्छ ।

https://www.khojtalashonline.com/news-detail/1871
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७, ०५:५७:००

also goto ktmbytes.com

Search