Open
  • Pulchowk, Lalitpur
  • 24 Hrs Open

Category Archives: Blogs

के हो थाइराइड ? समस्या र समाधानका उपाय

थाइराइड घाँटीमा भएको एक अन्तःस्रावी (नली नभएको) ग्रन्थि वा अंग हो । यसबाट निस्कने हर्मोनहरुले शरीरका अनेकौं अंगका कामलाई नियन्त्रण र प्रभाव पार्ने गर्छन् । थाइराइड वा यससँग सम्बन्धित हर्मोनको उत्पादनमा कुनै अवरोध आएमा त्यसबाट धेरै भागमा समस्या उत्पन्न हुने हुन्छ ।
कतिपयले थाइराइडलाई नै रोग भन्ने गरेको पाइन्छ तर त्यसो होइन । थाइराइडमा विभिन्न रोगहरु लाग्छन् जस्तै– गलगाँड (Goiter), थाइराइडको हर्मोन कम उत्पादन हुने समस्या (Hypothyroidism) , थाइराइडको हर्मोन बढी उत्पादन हुने समस्या (Hyperthyroidism), थाइराइड सुन्निने (Thyroiditis) लगायत गाँठो आउने, मासु बढ्ने, क्यान्सर हुने आदि । यी समस्यामा हामी हाइपो र हाइपर थाइरायडिज्मका बारेमा चर्चा गर्नेछौं ।
हिजोआज थाइराइडसँग सम्बन्धित समस्या धैरैलाई भएको पाइन्छ । महिलाहरुलाई अटो इम्युन समस्या केही बढी मात्रामा देखिएको छ । सोही कारणले यो थाइराइड हर्मोनजन्य गडबडी पनि महिलामा नै बढी हुने गरेको पाइएको छ । धेरै वर्षपहिले गलगाँडलाई यसको कारणको रुपमा लिइन्थ्यो । तर हिजोआज जीवनशैली गडबडी तथा थाइराइड अटो इम्युनिटी समस्याका कारणले बढी भएको पाइन्छ । यसमा थाइराइड ग्रन्थिको हर्मोन उत्पादनको कार्यमा अवरोध आउने हुन्छ ।
यसरी नै थाइराइडमा हुने संक्रमणका कारण थाइराइडाइटिस भएमा समेत हर्मोन स्राव क्षमता नै ह्रास हुन्छ । चीन तथा अन्य देशहरुमा गरिएका विभिन्न अध्ययनले कम वा बढी मात्रामा आयोडिनयुक्त नून वा खाद्यवस्तुको प्रयोगका कारण पनि हाइपर तथा हाइपो थाइरायडिज्मलगायत थाइराइडका अन्य रोगहरु हुने देखाएको छ । हाम्रो देशमा पनि यो समस्या व्यापक भएकोमा यो पनि एक कारण हुन सक्छ । साथै जीवनशैलीको गडबडी पनि यो समस्याको एउटा मुख्य कारण रहेको अनेकौं अनुसन्धानहरुको निष्कर्ष छ ।
विभिन्न अध्ययनले कम वा बढी मात्रामा आयोडिनयुक्त नून वा खाद्यवस्तुको प्रयोगका कारण पनि हाइपर तथा हाइपो थाइरायडिज्मलगायत थाइराइडका अन्य रोगहरु हुने देखाएको छ ।
प्रयोगशालामा रगतमा थाइराइडको कामसम्बन्धी जाँच (Thyroid function test/T3,T4, TSH Test)  गरेमा थाइराइडसम्बन्धी रोग छ वा छैन भन्ने जान्न सकिन्छ । शंका लागेमा चिकित्सकले यस्ता परीक्षण गराउँछन् । टी थ्री र टी फोर हर्मोन थाइराइडबाट निस्कन्छ भने टीएसएच हर्मोन पिट्युटरी ग्रन्थिबाट स्राव हुन्छ, जसले थाइराइड ग्रन्थि र यसबाट निस्कने हर्माेनहरुलाई नियन्त्रण गर्दछ ।
हर्मोनको अति स्राव हुने समस्यालाई हाइपरथाइरायडिज्म भनिन्छ । यसमा थाइराइड बढी नै सक्रिय हुन्छ । शरीरमा टी थ्री र टी फोर हर्मोनको स्रावमा असन्तुलन आएर अनेक लक्षणहरु देखिन्छन् । जस्तै– तौल घट्दै गएर शरीर दुब्लो–पातलो हुने, भोक बढी लाग्ने, पेट गडबडी हुने, छाला पातलो र शुष्क हुने, रौंको विकास नहुने वा पातलो हुने, खुट्टाको अगाडिको भागको छालामा रातोपन देखिने पनि हुन सक्छ । यसमा मन आँत्तिएको जस्तो हुने, डर लाग्ने, नर्वस हुने, मुटुको धड्कन बढ्ने, रिस उठ्ने, झिँजोझर्को लाग्ने, काममा ध्यान नजाने, जीउ तात्तिने वा बढी गर्मी अनुभव हुने, पसिना बढी आउने, हातखुट्टा काँप्ने, निद्रा नलाग्ने, मन अस्थिर हुने, मुख सुक्ने आदि मानसिक रोगका लक्षणहरु पनि देखिन्छन् ।
हाइपोथाइरायडिज्ममा शरीरको मेटाबोलिक  क्रिया सुस्त हुन्छ र मुटुको चाल कम हुने तथा हृदयरोगको अनुभव हुने, जीउ गल्ने–थाक्ने, कपाल तथा छाला सुख्खा एवं फुस्रो हुने, तौल बढ्दै जीउ मोटाउन थाल्ने, नङ सजिलै फुट्ने–भाँचिने, मासु फर्किने हुन सक्छ ।
यस्तै गरी आलस्यता बढ्ने, निद्रामा गडबडी हुने अर्थात् धेरै सुतिरहन मन लाग्ने वा निद्रा नलाग्ने वा कम लाग्ने हुन्छ । चिन्ता र निराशापन एवं डिप्रेसनका केही लक्षणहरु आउने, कब्जियत तथा ग्यास्ट्रिकको समस्या हुने हुन्छ । त्यस्तै गरी गलगाँड सुन्निने, महिलाहरुमा मासिकस्रावमा कम–बढी रगत बग्नेलगायत अन्य गडबडी हुने, बाँझोपन हुनेजस्ता लक्षणहरु हुन्छन् ।
अनुहार फुल्ने, स्वर धोद्रो हुने, मांसपेशी कमजोर हुने, दुख्ने, अररो हुने, जोर्नी सुन्निनेजस्ता लक्षणहरु पनि देखिन सक्छन् ।
जुनसुकै समस्याको उपचारमा पनि खानपानको भूमिका प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा रहेको हुन्छ । तर कतिपय विज्ञ चिकित्सक वा इन्डोक्राइनोलोजिस्टहरुसमेत थाइराइडको समस्यामा खानपानको भूमिका नरहने बताउँछन् । कतिपय अनुसन्धानहरुले चाहिँ हाइपोथाइरायडिज्ममा काउली, बन्दाकोभी, ब्रोकाउली, सलगम, भटमास, कोदो, ग्रीन टी आदिले थाइराइडको आयोडिनको प्रयोग गर्ने क्षमतालाई अवरोध गर्न सक्ने भएकोले त्यस्ता वस्तु खान नहुने निष्कर्ष निकालेको पाइन्छ । त्यसैलाई आधार मानेर बिरामीहरुमा हाउगुजी फैलिएको छ । तर यससम्बन्धी चिकित्सकहरु त्यसलाई त्यति धेरै महत्व दिन चाहँदैनन् ।
थाइराइडको हर्मोन गडबडीका कारण उत्पन्न समस्या तथा लक्षणहरुलाई साम्य पार्न खानपानको व्यवस्थापनको महत्वपूर्ण भूमिका रहेको कुरालाई कसैले इन्कार गर्न सक्दैन । कैयौं अनुसन्धानहरुले खानपानको प्रयोगद्वारा थाइराइडका गडबडीका कारण उत्पन्न मोटोपना, मुटुरोग, कब्जियत, मनका समस्याहरु, कमजोरी आदिमा भोजनमा सुधार ल्याएर उपचार गर्न सकिने देखाएको छ । यो एक अटोइम्युन रोगसमेत भएकोले रोग–प्रतिरोधक क्षमता बढाउन र भैपरि आउने समस्याको उपचार गर्न  खानपानको नियम पु¥याउनु जरुरी छ ।

https://www.khojtalashonline.com/news-detail/1145
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७, १३:५४:००

अधिकांश रोग थेरापीबाट ठिक हुन्छ

० फिजियो थेरापी भनेको कस्तो उपचार विधि हो ? 
फिजियो थेरापीलाई अर्को भाषामा फिजिकल थेरापी पनि भनिन्छ । यसमा एक्सरसाइजको प्रयोग गरी विरामीको उपचार गरिन्छ । फिजियोथेरापीमा विभिन्न तरिकाको प्रयोग गरिन्छ । जस्तै म्यानुल थेरापी, इलेक्ट्रो थेरापी, हाइट्र थेरापी आदि । विरामीको उपचार गर्दा विभिन्न विरामीलाई रोग र अवस्थाअनुसार विभिन्न एक्सरसाइज र तरिका प्रयोग गरिन्छ । 
० कस्ता रोगका लागि फिजियोगेरापी जरुरी छ ?
सामान्यतया फिजियोथेरापी प्रायः सबै खालको रोग र बच्चादेखि बृद्धासम्म सबै उमेरका विरामीका लागि जरुरी छ । यसमा दुर्घटना पश्चातको समस्या, जटिल दुखाई, हाड, नशा सम्बन्धी, खेलकुदमा लाग्ने चोटपटक, गर्भवती र प्रसुति सम्बन्धी, श्वासप्रश्वास सम्बन्धीमा पनि उपयोग हुन्छ । उदाहरणका लागि प्यारालाइसिस, नशा च्यापिएको, विभिन्न जोर्नीको दुखाई, मुख बाँगिएको आदि । 
० फिजियोथेरापीमा कस्ता—कस्ता मेशिनहरुको प्रयोग हुन्छन् ?
फिजियोथेरापीमा विद्युतीय मेशिन जस्तै मसल स्टुमुलेटर, टेन्स, आई.एफ.टि., ट्रयाक्सन, अल्ट्रासोनिक इत्यादि पमेशिनहरुको प्रयोग हुन्छन् र साथै एक्सरसाइज गर्नका लागि उपयोग हुने सामानहरु थेरा ब्यान्ड, स्विस् बल, पुल्ली, सोल्ठर ह्विल, फिङ्गर ग्रिपर आदि हुन् । 
० यो मेशिनहरुको काम के के हुन् त ?
यी मेशिनहरुले दुखाई कम गराउने, मांशपेसीहरु खुम्चेको खुलाउने, सन्नेको कम गराउने, रक्त सञ्चार राम्रो गराउने, नशा तन्काउने, नचलेको र कमजोर मांशपेशीलाई चलाउने र बलियो गराउँछ ।
० औषधी प्रयोग र फिजियोथेरापीमा के फरक छ ?
हो, दुबैको आफ्नै भूमिका हुन्छ । औषधिले छिटो दुखाई कम गर्छ तर लामो समयसम्म दुखाईको औषधी खायौं भने नकारात्मक असर पार्न सक्छ । फिजियोथेरापीले दुखाई कम गर्न र निको हुन समय लाग्छ तर दिर्घकालिन रुपमा उपयोगी हुन्छ । 
० योग र थेरापी एउटै हो ? 
केही रुपमा योग र फिजियोथेरापी एउटै देखिए पनि फरक हुन् । योग भन्नाले स्वयम् जागरुक भएर दैनिक गरिने व्यायाम हो भने फिजियोथेरापी भनेको विरामीको समस्या र रोगको अवस्था हेरेर गराईने एक्सरसाइज र उपचार पद्धति हो । 
० फिजियोथेरापी कत्तिको खर्चिलो हुन्छ ?
अरु देशहरुको तुलनामा हाम्रो देशमा फिजियोथेरापी उपचार कम खर्चिलो छ । यसमा विरामीको अवस्था अनुसार एक्सरसाइज र मेशिनको प्रयोग गराउनु परेको हुनाले २०—३० मिनेटसम्म लाग्छ र केही दिन अस्पताल वा क्लिनिकमै आउनुपर्ने हुन्छ भने कसैलाई एक्सरसाइज सिकाएर मात्रै पनि पठाइन्छ । 
० मृगौला रोगीका विरामीहरुको लागि पनि फिजियो थेरापी उपयोगी हुन्छ ?
डायलासिस गरिरहेका विरामीहरु कम्जोर हुन्छन्, त्यसैले उनीहरुलाई सक्रिय राख्न एक्सरसाइज एकदमै जरुरी छ । हात खुट्टाको एक्सरसाइज, स्वासप्रश्वासको एक्सरसाइज, मोविलिटी एक्सरसाइज आदि गरेको खण्डमा विरामीलाई केही सहजताको अनुभुति हुन्छ । 
० जोर्नि फ्याक्चर केशमा थेरापीको भूमिका कस्तो छ ?
जोनि फ्याक्चर पश्चात अर्थोपेडिक डाक्टरले विभिन्न किसिमबाट हड्डी जोर्ने गर्नुहुन्छ र त्यसपछि विरामीले त्यो जोनी चलाउँदैन, लामो समयसम्म जोर्नी नचलेको हुनाले जाम हुन्छ र तयो जाम खोलाउन फिजियोथेरापीको महत्वपूर्ण भूमिका हुन्छ । 
० प्यारालाइसिसको विरामी पनि थेरापीबाट ठिक हुन्छ ?
प्यारालाइसिस पश्चात पनि निको भएर कतिपय विरामीहरु आफ्नो दैनिकीमा फर्किएका छन् । विरामीको अवस्था अनुसार उपचार गरेर विरामी पूर्णरुपमा ठिक हुन्छ । उपचारको समयावधि भने लामो हुन्छ । 
० माहामारीको रुपमा रहेको कोरोना भाइरसका विरामीहरुको हकमा चाहिँ फिजियो थेरापी उपयोगी हुन्छ कि हुँदैन ?
हुन्छ । पोष्ट कोभिड रिहाब्लिटेशनमा फिजियोथेरापीको ठूलो भूमिका हुन्छ । फोक्सोलाई कोभिडले क्षति पु¥याएको हुनाले र शरीरमा अक्सिजनको मात्रा घटेको हुनाले फिजियोथेरापीले विभिन्न प्रकारका स्वास प्रश्वासका एक्सरसाइज, स्पाइरोमिटर, बेलुन फुक्ने एक्सरसाइज, मोविलीटी एक्सरसाइजहरु गराएर सजिलो पार्न सकिन्छ । 

https://www.khojtalashonline.com/news-detail/1687
 प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७, १०:४९:००

दाँत सफा गर्दा कम्जोर होइन, झन मजबुत हुन्छ

शरीरका अन्य अंगको जति महत्व छ त्यतिनै महत्व दाँतको पनि भएको डा. बिभुती ताम्राकार बताउनुहुन्छ ।  दाँत सम्बेदनशील अंग हो, यसले सौन्दर्य झल्काउनेदेखि लिएर दैनिक खानेकुराहरु खान्छौं त्यसलाई राम्रोसँग चपाएर सहजै पचाउने बनाउँछ र हाम्रो शरीर स्वस्थबद्धक बन्नाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । दाँतलाई केयरलेस नगरी सानोतिनो समस्या आउने वित्तिकै उपचार गराई हाल्नुपर्ने डा. ताम्राकार बताउनु हुन्छ । दाँत सम्बन्धी समस्या र त्यसको निवारणका लागि गरिने उपचारको बारेमा डेन्टल सर्जन डा. बिभुति ताम्राकारसँग खोजतलास साप्ताहिकका लागि विश्वास भट्टराईले गरेको संक्षिप्त कुराकानी ः
० हाम्रो शरीरमा दाँतको काम र महत्व के होला ?
हाम्रो शरीरमा अन्य भागको जति महत्व छ त्यो भन्दा बढी दाँतको एकदमै महत्व छ । दाँत एउटा सम्बेदनशील अंग हो, यसले सौन्दर्य झल्काउने देखि लिएर दैनिक खानेकुराहरु खान्छौं त्यसलाई राम्रोसँग चपाएर सहजै पचाउने बनाउँछ र हाम्रो शरीर स्वस्थबद्धक बन्नाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ, अर्को कुरा भनेको हाम्रो दैनिक जीवनमा हातखुट्टाभन्दा पनि बढी मुख प्रयोग हुन्छ, हामीले दैनिक खानेकुराहरु देखि लिएर अन्य गतिविधिहरु पनि मुखबाटै हुने भएका कारण सबैभन्दा बढी किटाणु पनि मुखमै हुन्छ, त्यो कुरा मानिसहरुले बुझेका छैनन् । मुखभित्र दाँतमा भएको किटाणुहरु हाम्रा शरीरको विभिन्न भागमा फैलन सक्छ र त्यसले विभिन्न रोगहरु निम्त्याउन सक्छ । त्यसैले दाँतमा सानोतिना समस्या जस्ता किरा लागेको अवस्था, दाँत सिरिङ्ग गरेको अवस्थामा वा अन्य केही समस्या आउनेवित्तिकै डेन्टिससँग सल्लाह गरी सोही बमोजिम उपचार गरिहाल्ने हो भने खासै खर्चिलो पनि छैन । तर, त्यसलाई केयरलेस गरेको खण्डमा पछि आफूलाई दुःख पनि हुने र बढी खर्च लाग्ने पनि हुनसक्छ । त्यसैले दाँतलाई केयरलेस नगरी सानोतिनो समस्या आउने वित्तिकै उपचार गराई हाल्नुपर्छ र वर्षको एक—दुई चोटी डेन्टिसको सल्लाहअनुसार दाँत सफा पनि गर्नुपर्छ ।
० दाँतमा कस्ता—कस्ता समस्याहरु आउँछन् ?
नेपालको परिवेशमा भन्ने हो भने सामान्य समस्या भनेको दाँतमा किरा लाग्ने, फोहोर हुने, वंशानुगत (hereditary) समस्याहरु पनि हुन्छ, कसैको दाँतमा फोहोर भएको हुँदैन तर दाँत हल्लिएको हुन्छ, त्यो भनेको दाँतसँग सम्बन्धित अंगहरु जस्तो हड्डी, गिजाका कारण पनि यस्तो समस्याहरु देखा पर्न सक्छन् । दाँतमा सामान्य किरा लाग्यो भने त्यसलाई हामीले फिलिङ गरेर सफा गर्ने गर्छौं, तर धेरै समयसम्म किरा लागेको र नसासम्म छोएको अवस्थामा भने नसा नै मर्ने हुन्छ त्यस्तो अवस्थामा जरादेखि उपचार गर्नुपर्ने अवस्था आउँन सक्छ । त्योसँग सम्बन्धित हड्डी खियो भने पनि दाँतसम्बन्धी समस्या आउन सक्छ । दाँतको ब्याक्टेरिया र हड्डीको ब्याक्टेरिया उस्तै हुन्छ, शरीरमा विभिन्न रोगको समस्या भएकाहरुको सितिमिति दाँत निकाल्नु हुँदैन । जस्तै प्रेसरको विरामी, सुगरको विरामी, मुटु अनि रगतको विरामीको पनि सितिमिति दाँत निकाल्नु हुँदैन ठूलो समस्या आउन सक्छ । त्यसैले आफूलाई दाँत दुखेर सहनै नसकेको अवस्थामा जहाँ पायो त्यही गएर दाँत निकाल्नु हुँदैन यसले ठूलो समस्या निम्त्याउन सक्छ ।
० गिजा सुन्निने, रगत आउने, सिरिङ्ग सिरिङ्ग गर्ने समस्या के कारणले हुन्छ ?
हामीले दैनिक ब्रस गरेर र कुल्ला गरेर नजाने फोहोरहरुका कारणले पनि यस्तो समस्या आउन सक्छ । हामीले ब्रस गरेर र कुल्ला गरेर नगएको दाँत र गिजाको बिचमा ढुंगा जसरी जाम भएर बसेको फोहोर हुन्छ त्यसमा थप्पिँदै गएपछि गिजाले दाँत समात्ने ठाउँ पाएन त्यस्तो अवस्थामा गिजा सुन्निने, रगत आउने, ¥याउ ¥याउ गर्ने र त्यसलाई बेसरी थिचेर रगत निकाल्न मन लाग्छ । यस्तो अवस्थामा भने हामीले के बुझ्नुपर्छ भने दाँत सफा गर्ने समय भएछ भन्ने बुझ्नु पर्छ । त्यसैले हामीले सामान्य रुपमा ६ महिनादेखि एक वर्षको बिचमा दाँत सफा गर्नुपर्छ त्यसले गिजा स्वस्थ हुन्छ र यस्तो समस्याहरु आउँदैनन् ।
० बेला—बेलामा दाँत सफा गर्दा दाँत कम्जोर हुन्छ भन्छन् नि ?
यो एकदमै गलत कुरा अन्धविश्वास हो । पछिल्लो समय डेन्टल क्लिनिकहरु छ्याप्छ्याप्ती छन्, दाँतको विरामीले कुन ठाउँमा गएर आफ्नो दाँतको उपचार अथवा सफा गरिरहेको छ । त्यस ठाउँमा सफा गर्दा कसले ग¥यो, कस्ता कस्ता मेट्रियल र सामान प्रयोग गरेको छ त्यसतर्फ पनि ध्यान दिनुपर्ने हुन्छ । वास्तवमा हामीले सफा गर्ने भनेको दाँत र गिजाको बिचमा ढुंगा जसरी जाम भएका फोहोर निकाल्ने हो, त्यो लामो समय जाम भएर बसेको फोहोर निकाल्दा त्यो ठाउँमा प्वाल—प्वाल परेको हुन्छ त्यसलाई ग्याव बढेको भन्ने गर्छन्, तर त्यो होइन मान्छेको नेचुरल ग्याव नै हो । दाँत सफा गर्दा कम्जोर होइन झन मजबुत र बलियो हुन्छ ।
० बाङ्गोटिङ्गो र दाँत आउनुको कारण के होला ?
बाङ्गोटिङ्गो दाँत आउनुको मुख्य कारण भनेको वाई बर्थ नै हो । पेटमै हुँदाखेरी दाँतको फरमेशन सुरु हुन्छ । कुन दाँत कहाँबाट आउँछ भन्ने डिरेक्सन हुन्छ, एउटा मान्छेको जस्तो दाँत अर्को मान्छेको जस्तो हुँदैन । त्यो डिसाइडेड वाई वर्थ हुन्छ । त्यसलाई पछि मिलाउने काम गर्न सकिन्छ ।
० बाङ्गोटिङ्गो दाँतले शरीरलाई असर गर्छ कि गर्दैन ?
असर गर्छ । बाङ्गोटिङ्गो र सिधा दाँतमा धेरै नै फरक पर्छ । दाँत मिलेको छ भने खानेकुरा खाँदा खासै अड्कीँदैन र फोहोर पनि जम्ने कम हुन्छ भने बाङ्गोटिङ्गो दाँतमा फोहोर धेरै जम्ने भएका कारण गिजामा समस्या आउँछ र बढी किरा लाग्ने सम्भावना हुन्छ । त्यसैले बच्चामै त्यस्ता दाँत मिलाएको खण्डमा गिजाको समस्यादेखि लिएर विभिन्न समस्याबाट बच्न सकिन्छ ।
० बाङ्गोटिङ्गो दाँत कसरी मिलाइन्छ ?
बाङ्गोटिङ्गो दाँत मिलाउने चाहिँ अर्थोडोन्टिक्समा पर्छ (तार बान्ने) । अर्थोडोन्टिसले दाँतको अवस्था हेरेर र तारले बाँधेर एक्सटर्नल फोर्स प्रयोग गरेर दाँतलाई तानतुन गरेर मिलाउने काम गर्छ । यो काम सबै दाँत आइसकेपछि गर्दा राम्रो हुन्छ ।
० दाँतको समस्या बच्चाहरुलाई बढी देखिने गरेको पाइन्छ नि ?
दाँतको समस्या बच्चालाई मात्र होइन ठूलोलाई पनि त्यतिकै मात्रामा हुन्छ । बच्चाहरुकोमा समस्या आउनु भनेको बढी चकलेट खाने, चकलेट खाएपछि मुख कुल्ला नगर्ने र बढी समय मुखमै खानेकुराहरु राख्ने गरेका कारणले बढी आउँछ । आजकल बच्चाहरुले बढी समय मोबाइल हेरेर मुखभरी खानेकुरा राखेर बस्छन्, त्यसैले मुखको ब्याक्टेरियाले चाँडो एसिड निकाल्ने काम गर्छ, एसिडले दाँत मक्काउने काम गर्छ, त्यसपछि दाँतमा समस्या आउने त भइहाल्यो नि !
० दाँत सफा कति समयको अवधिमा गर्दा राम्रो हुन्छ ?
हामीले दाँतको अवस्था हेरेर त्यसको निक्र्योल गछौं । दाँतमा धेरै नै फोहोर छ भने ३ महिनादेखि ६ महिनाको अवधिमा हामीले बोलाइहाल्छौं । त्यसको अवस्था कस्तो छ भनेर चेकजाँच गर्ने गर्छौं र सोही अनुसार सफा गर्ने काम गर्छौं । सामान्य हिसावले भन्ने हो भने वर्षको एकपटक भएपनि दाँत अनिवार्यरुपमा सफा गर्न म सुझाव दिन्छु ।
० बुद्धि बंगरा आउँदा एकदमै पिडा हुन्छ, के कारणले यस्तो हुन्छ ?
बुद्धि बंगरा भनेको हाम्रो शरीरमा भएको एपेन्डिक्स जस्तै हो । यो खासै काम लाग्दैन । सामान्य हिसावले हेर्ने हो भने हाम्रो मुखमा २८ वटा दाँत ठिक्क भन्ने गर्छौं तर, ठूलो मुख हुनेहरुको भने ३२ वटा दाँत अट्न सक्छ तर सानो मुख भएकाहरुको लागि त्यतिमात्राको दाँत नअट्ने भएका कारण दाँत आउन खोज्छ तर आउँदैन ठाउँ नभएपछि त्यस्ले ठेल्न खोज्छ अनि त्यसले पिडा दिन्छ । त्यस्तो अवस्थामा त्यसलाई निकालेर फाल्दा नै उपयुक्त हुन्छ ।
० सास गन्हाउने समस्या कसरी हुन्छ ?
सास गन्हाउने कारणमध्ये दाँतमा भएको फोहोरका कारण पनि हुन्छ । दाँतमा फोहोर जमेपछि गिजामा समस्या आउने, गिजालाई थिच्दा नमिठो स्वाद आएको जस्तो हुने भनेको फोहोरकै कारण हो । त्यसैले मज्जाले सफा ग¥यो भने त्यस्तो समस्या हुँदैन । कसैकसैको भने विभिन्न औषधीहरु प्रयोग गरेका कारण, कसैकसैको पेटको समस्या जस्ता डकार, अमिलो पानी आउने जस्ता कारणले पनि सास गन्हाउने हुन्छ ।
० दाँतको दुखाई अत्यन्तै पिडादायी हुन्छ, त्यसलाई तत्काल दुखाई न्यूनिकरण गर्ने उपाय के होला ?
कहिलेकाहिँ खाना खाएपछि एक्कासी सहनै नसक्ने गरी दाँत दुखेको छ भने एकपटक मज्जाले ब्रस गर्ने अनि नुनपानीले कुल्ला गरेको खण्डमा पनि दुखाईमा कमी आउन सक्छ । अर्को भनेको चाहिँ जुन साइडको दाँत दुखेको हो त्यो साइडलाई थिचेर नसुत्ने, दुखेको कम हुन्छ भनेर सुन्निएको साइडलाई थिचेर सुतेको खण्डमा त्यो साइड झन बढी सुन्निने सम्भावना हुन्छ, त्यसैले अर्को साइडबाट सुत्ने, टाउकोलाई अलिकति रेज गरिदिने दुईवटा तकिया प्रयोग गरेर अलिकति उचालिदिने यसरी सुत्दा यदि पिप जमेको हो भने पनि यताउती जाँदैन । हामीले उपचार गर्दा पनि भनेका हुन्छौं यो साइडबाट नसुत्नु, यो साइडबाट नचपाउनु भनेर भनेका हुन्छौं । किनकी जुन ठाउँमा इन्फेक्सन भएको हुन्छ त्यही ठाउँमा थिच्दा झन् दुख्ने समस्या आउन सक्छ । दाँत एकदमै दुखेको अवस्थामा दुखाई काम गर्न फ्लेक्जन (पेनकिलर) खान सकिन्छ । यत्तिकै औषधी पसलमा गएर एन्टीवायोटिकको प्रयोग गर्नुहुँदैन, डाक्टरकोमा गएर सुझावअनुसारको औषधी प्रयोग गर्नुपर्ने हुन्छ ।
० दाँतै नभएकाहरुलाई अस्थाई वा फिक्स कस्तो दाँत हाल्दा राम्रो हु्न्छ ?
यसमा उमेर अनुसार भर पर्छ । २० वर्षदेखि ४० वर्षको उमेर भनेको जवानी उमेर भएका कारण त्यस्तालाई फिक्स दाँत नै हाल्दा राम्रो हुन्छ । किनकी यो उमेर समूहका मानिसहरुलाई झिक्ने राख्ने गर्दा झन्झटिला ठान्छन् । यस्ता उमेर समूहका मानिसहरुलाई दुईटा दाँतको सर्पोट लिएर फिक्स दाँत पनि राख्न सकिन्छ भने अर्को इन्प्लान्ट गर्न सकिन्छ, हड्डीभित्र स्क्रु राखेर फिक्स दाँत राख्न सकिन्छ । तर राख्ने भनेर मात्र हुँदैन, कसैकसैको हड्डी बलियो छैन, हड्डीको कन्डीसन राम्रो छैन भने त्यही अनुसार ट्रिटमेन्ट गर्नुपर्ने हुन्छ । राम्ररी इन्भेष्टिगेसन गरेर, प्लान अनुसार उपचार गर्नुपर्ने हुन्छ
० दाँतको उपचार बढी खर्चिलो हुन्छ भनिन्छ नि ?
समयमै सतर्कता अप्नाउने हो भने हेलचेक्र्याई नगर्ने हो भने दाँतको उपचार खासै महँगो होइन । समय—समयमा दाँतको चेकजाँच गर्ने, सफा गर्ने हो भने दाँतको धेरै नै कममा उपचार हुन्छ । तर, सानोतिनो समस्या जस्तो दाँत सिरिङ्ग गरेको खण्डमा त्यसलाई वेवास्ता गर्दै समयमा उपचार नगरेको खण्डमा पछि मगपजलब तजबथिय दजबलभ नसामै छोइसकेको अवस्था हुन्छ र उपचार विधिमा भने बढी खर्च लाग्छ । किनभने त्यसलाई ठिक पार्न तिनचार पटक नै उपचारको लागि जानुपर्ने हुन्छ । आरसीटी गर्दा क्राउन लगाउनुपर्ने नै हुन्छ, त्यसरी नै खर्च बढ्ने हो ।
० दाँत सम्बन्धी समस्या कसरी हुन्छ, त्यसको उपयोगी कुराहरु र जनमासनलाई सजगता अप्नाउनु पर्ने भन्नै पर्ने कुराहरु केही छन् कि ?
जनमासनलाई भन्नै पर्ने कुरा भनेको हामी सामानय जीवनयापनमा शरीरमा केही भइहाल्यो भने डाक्टरकोमा जान्छौं, तर दाँत दुखेको खण्डमा ठिक भइहाल्छ भन्दै नुन पानीले कुल्ला गरेर बस्छौं, त्यो भनेको प्राथमिक उपचार मात्र हो, के कारणले दुखेको छ भनेर चेकजाँच गराउनु पर्छ, दाँतमा ठूलै समस्या पनि आएको हुन सक्छ, समयमै उपचार गरेको खण्डमा कम खर्च लाग्छ र समय पनि कम लाग्छ । त्यसैले सामान्य दुखाई भएको खण्डमा पनि चाँडोभन्दा चाँडो दाँतको डाक्टरको सल्लाहअनुसार उपचार विधि अप्नाउनु नै सबैभन्दा राम्रो हुन्छ ।

https://www.khojtalashonline.com/news-detail/1871
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७, ०५:५७:००

Search